Home ताजा समाचार राती १२ बजे घाम लाग्ने देशको कथा-५

राती १२ बजे घाम लाग्ने देशको कथा-५

3151
0
SHARE

 

-हरिविनोद अधिकारी-

(दन्त चिकित्सक डाक्टर प्रलय रिजालसँगको भलाकुसारी सहित )

हामीले सुन्ने गरेका थियौँ-नर्वे इसाईहरुको देश हो,इसाई धर्म प्रचारका लागि नर्वेले आफ्ना चर्चमार्फत् विश्वभर, खासगरी गरिबी भएका देशहरुमा प्रशस्त लगानी गर्छ र इसाईकरणमा भूमिका निर्बाह गर्छ ।

आधिकारिकरुपमा त्यस्तो बुझिएन र होइन होला पनि । हुन त राजधानी ओस्लोमा चर्चहरुको संख्या धेरै देखिन्छ । चर्चहरु अत्यन्त धनी सँस्थाका रुपमा छन् भनिँदो रहेछ । हाम्रो देशमा जसरी मन्दिरको गजुर देखेर मन्दिर हो भन्ने ठोकुवा गर्न सकिन्छ, त्यस्तैगरी ओस्लोमा आकाश तिर चुच्चो परेको गजुरले गिर्जाघर वा चर्चको पहिचान स्पष्टै हुन्छ । थुप्रै चर्चहरु देखिन्छन् ओस्लो सहरमा । चर्चको पहिचान बेग्लै देखिन्छ आकाशसम्म पुग्नेगरी ठडिएको गजुरको आकारले ।

राजदरबारका लागि धार्मिक परम्परा निर्बाह गर्न मुख्य चर्च राजदरबारबाट देखिने ठाउँमा रहेको छ सहरको मुख्य भागमा । राजाचाहिँ चर्चप्रति आस्थावान हुनु पक्कै जरुरी ठानिन्छ तर धार्मिक स्वतन्त्रताको वातावरण रहेछ । हुन त अहिले पनि करिब ७२प्रतिशत नर्वेलीहरु इभान्जेलिकल लुथरन चर्चअन्तर्गतका इसाईहरु हुन् । क्याथोलिक चर्चअन्तर्गतका करिब ३ प्रतिशत इसाईहरु रहेको अनुमान छ । त्यस्तै अरु इसाईहरु पनि न्यून संख्यामा रहेका छन् । इसाई धर्मपछिको दोस्रो ठूलो संख्या इस्लाम धर्मको छ जसको संख्या ३ प्रतिशतभन्दा बढी रहेको अनुमान छ ।

वास्तवमा इस्लाम धर्म मान्नेहरुको संख्या आधिकारिक गणनाभन्दा बढी नै रहन सक्ने अनुमान यसकारणले गरिएको रहेछ कि शरणार्थी र स्वतः नर्वेमा आउन पाउनेहरुको संख्या र अफ्रिकाबाट नर्वे आउनेका संख्यामा वृद्धि भइरहेको छ । ईदको बेलामा यो समीक्षकले देख्यो, ओस्लो इस्लाममय थियो । जताततै इस्लामधर्मीहरुको भीड । कम्तीमा पनि महिलाहरु कोही त बुर्का नै लगाउने अनि र सबै महिलाहरुले हिजाब(टाउको ढाक्ने रुमाल)को प्रयोग गरेकै हुन्छन् बालिकादेखि बृद्धासम्मले । धार्मिकरुपमा पुरुषहरुको पनि पहिचान हुनेगरी पहिरन लगाएको जहिले पनि देख्न पाइन्छ जुन संख्या अत्यधिक मात्रामा छ । अहिले पनि ओस्लोका कम्युनहरुमा पाकिस्तानी मूलका इस्लामहरुको दबदबा छ र केन्द्र सरकारमा एकजना मन्त्रीको रुपमा इस्लाम धर्मावलम्बीको प्रतिनिधित्व गराइन्छ भनिन्छ । सन् २०१२ पछि इस्लाम धर्मीहरुको संख्या करिब २७ प्रतिशतले प्रत्येक वर्ष बढेको छ भन्ने अनुसन्धानले देखाएको मानिन्छ ।

आजकाल नर्वेका युवाहरुमा धर्मप्रतिको धारणा निरपेक्षरुपमा तटस्थ देखिन्छ । करिब १७ प्रतिशत नर्वेलीहरु कुनै पनि धर्मप्रति झुकाब नरहेको बताउँछन् भन्ने एउटा अनुसन्धानले देखाएको छ ।

एउटा अनुसन्धानले के पनि देखाएको पाइन्छ भने २२ प्रतिशत नर्वेलीहरु भगवानप्रति आस्थावान छन् । ४४ प्रतिशतचाहिँ भगवानको सत्ताभन्दा पनि केही न केही आध्यात्मिक शक्ति छ भन्ने पत्याउँछन् ।२९ प्रतिशत भगवान र अरु कुनै शक्तिप्रति विश्वास गर्दैनन् र ५ प्रतिशतले यसवारेमा केही पनि भन्न चाहेनन् । अनि एउटा अर्को अनुसन्धानले चाहिँ भगवानका वारेमा विश्वास गर्नेहरुको संख्या ३७ प्रतिशत र विश्वास नगर्नेहरुको संख्या ३९ प्रतिशत रहेको देखाएको छ भने अरु प्रतिशतले आफू यसबारेमा केही पनि नभन्ने बताए । पुरुषभन्दा महिलाहरुले ईश्वरप्रति बढी आस्था देखाएको पाइएको पनि अनुसन्धानले भनेको बताइएको छ ।

यहाँका आदिवासी सामीहरु हुन् जसको धर्मलाई सामिनिस्टिक वा सामी धर्म भनिन्छ । प्रकृतिपूजक सामीहरुलाई पहिले नै इसाईकरण गरिसकिएको छ र पनि कतिपय सामीहरु अझै आफ्नो परम्पराको धर्मलाई कट्टरताका साथ मान्ने पनि छन् । हिन्दूहरु र बुद्ध धर्महरुको संख्या पनि नगण्य छ । ती हिन्दू र बुद्धधर्म मान्नेहरु एसियाका देशहरुबाट आएकाहरु हुन् । ह्रिन्दूहरुचाहिँ खासगरी भारत र नेपालबाट आएका हुन् । बुद्धको स्तूप पनि छ । इस्लामका मस्जिदहरु पनि छन् र हिन्दूका मन्दिरहरु पनि छन् । यहुदीहरु पनि छन् र बहाई धर्मका अनुयायीहरु पनि रहेको तथ्याङ्क पनि छ । तर संख्या अत्यन्त न्यून छ । सन् २०१२सम्म नर्वेको राजकीय धर्मको रुपमा चर्च अब नर्वेलाई राज्यको धर्मको रुपमा मानिएको थियो तर अहिले कुनै पनि धर्मलाई राजकीय धर्मको रुपमा मानिएको छैन तर सरकारले कानुनीरुपमा भने चर्चलाई महत्वपूर्ण सँस्थाको रुपमा मानेको छ । कुनै पनि धर्म मान्ने स्वतन्त्रताको भने कानुनीरुपमा संरक्षण गरिएको छ । जुनसुकै धर्मका लागि पनि सदस्य संख्या तोकेर सरकारी कार्यालयमा दर्ता भएको धार्मिक संस्थालाई सदस्यताको आधारमा आर्थिक सहयोग गर्ने चलन रहेछ ।

खासगरी हिन्दूहरुको सक्रिय संस्था भनेको इस्कोन अर्थात् अन्तराष्ट्रिय श्रीकृष्ण चैतन्य समाज नै हो । यहाँ विश्व हिन्द्र परिषदको कार्यालय पनि देखिन्छ तर सक्रियहरुपमा रहेको छैन । नर्वे सरकारले प्रत्येक दर्ता भएका धार्मिक संस्थाहरुलाई सक्रिय सदस्यहरुको संख्याको आधारमा आर्थिक सहयोग तथा अन्य सहयोग दिने रहेछ । खासगरी हिन्दू धर्मको वारेमा छलफल र सत्सङ्गका लागि इस्कोनले नै प्रत्येक आइतवार भेटघाट, छलफल र श्रीकृष्ण सम्बन्धमा श्रीमद्भागवत महापुराण, श्रीमद्भागवत गीताका वारेमा प्रश्नोत्तर गरिँदो रहेछ ।

धेरै जसो भारतीय मूलका भक्तहरुको जमघटमा नेपालीहरु पनि भेटिएका हुन्छन् । विदाका दिनमा परेकाले प्रत्येक हप्ता कम्तीमा ५०—६०जना जम्मा हुने रहेछन् । जमघटमा श्रीकृष्णको आराधना गरिँदो रहेछ जसमा हरे कृष्ण हरे रामको मन्त्र गायन गँिरँदो रहेछ । सबै प्रक्रिया धार्मिक रीतिअनुसार गरिन्छ । आरती गरिन्छ , शङ्ख बजाइन्छ , भोग लगाइन्छ र महाप्रसाद बितरण गरिन्छ । यसैक्रममा हरिशयनी एकादशीको उपलक्ष्यमा श्रीकृष्ण रथयात्रा पनि गरिएको थियो जसको विवरण यसभन्दा पहिलेको भागमा दिइएको थियो । जन्मसिद्ध हिन्दूले हिन्दू धर्मको पक्षमा बोल्नु र हिन्दू धर्म मान्नु स्वाभाविकै हो तर जन्मसिद्ध इसाइहरुले हिन्दू धर्ममा मात्र शान्ति र मानवता देखेर हिन्दू धर्मको कडाइका साथ पालना गर्नुचाहिँ मननीय छ ।

नर्वेली माता सनातिनीले नर्वेको हिन्दू धर्मको प्रचार र अभ्यासको जिम्मा लिनु भएको रहेछ भने थुप्रै नर्वेलीहरु हिन्दू धर्मप्रति आस्थावान भएको पाइयो । अझ अचम्भ त त्यसबेला लाग्यो मलाई , दुईजना लिथुआनियाली युवतीहरु निरन्तररुपमा सत्सङ्गमा सहभागी हुने, वैष्णवले लगाउने टीका लगाउने र सत्सङ्गका सबै क्रियाकलामा सक्रिय सहभागी हुने देखियो । ती भक्तिनीहरु थिए युर्गा र युलुलु । दुर्गाजस्तै सुनिने नाम युर्गा आफूलाई दुर्गा नै भने पनि हुने कुरा व्यक्त गर्नुहुन्थ्यो । जब मैले उहाँलाई र युलुलुलाई के कारणले हिन्दू धर्मप्रति आस्था जाग्यो भन्दा हिन्दू धर्ममा मात्र मानवता र शान्तिको सही व्याख्या र बाटो देखाइएको दर्शन पाएको बताउनु भयो । भौतिक सुख सुविधाले मात्र जीवनको रथ नचल्ने रहेछ, त्यसका लागि खुराक भनेको आध्यात्मिक चिन्तन र शान्तिको बाटो नै महत्वपूर्ण रहेको बताउँदा ती महिलाहरुमा एकप्रकारको चमक देखिन्थ्यो । सत्सङ्ग, भजन, आरती र महाप्रसाद वितरणका केही तस्बिर पनि यहाँ छन् जसमा युर्गा र युलुलुको मात्र पनि फोटो देखिन्छ ।

  

यसपटकको नर्वेमा रहेका नेपालीहरुमध्ये परिचय गराइन्छ डाक्टर प्रलय रिजालसङ्ग ।

डाक्टर प्रलय रिजालको जन्म २०३५साल असार ४ गते भएको थियो । उहाँका पिता वरिष्ठ चिकित्सक डाक्टर भोला रिजाल हुनुहुन्छ भने माता समाजसेवी सरला रिजाल हुनुहुन्छ । २०४९ सालमा सुनगाभा माध्यमिक विद्यालय, डिल्लीबजारबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएका रिजालले विज्ञान विषयमा प्रमाणपत्र तह भारतको देहरादुनबाट गर्नुभयो र रुसको सेन्ट पिट्स्वर्गबाट चिकित्सा विज्ञानमा (सन् २००५मा) स्नातक( एम बी बी एस) गर्नुभयो र पोल्यान्डबाट दन्त चिकित्सामा ( सन् २००८मा)स्नातक पनि गर्नुभयो । ११ वर्ष देखि उहाँ नर्वेमा दन्त चिकित्सकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँकी पत्नी फतिमा रिजाल पनि चिकित्सक हुनुहुन्छ । फतिमा रिजालको नामले इस्लाम भए पनि , आफू हिन्दू परिवारको भए पनि आफ्नो घरमा धर्मका वारेमा कुनै विवाद छैन, फतिमा धार्मिक सहिष्णुतालाई व्यवहारमा अभ्यास गर्ने असल मानवीय गुणसहितकी महिला हुनुभएको प्रलय सगर्व बताउनु हुन्छ ।

एउटा सम्भ्रान्त र उच्च दक्षताले भरिपूर्ण दक्ष व्यक्तिहरुको परिवारको सदस्य किन विदेसिएको त भन्ने मेरो प्रश्नमा रिजालको उत्तर थियो—म कहाँ विदेसिएको छु र ? म सधैँ नेपाली हुँ र रहिरहने छु । खासमा मलाई कुनै आकर्षण त गरेको होइन नर्वेले तर पनि म यहीँ छु र म आफ्नो प्राविधिक उच्च सिपको प्रयोगमात्र नर्वेमा गर्दैछु, नेपालको नागरिकता त्यागेको छैन र त्याग्ने विचार पनि छैन । अनि सम्पन्न परिवारको सदस्य अनि उच्च प्राविधिक सिप भएको डाक्टरलाई त्यस्तो के आकर्षणले नर्वेमा बस्ने बनायो त भन्दा रिजालले बडो भावुक भएर भन्नुभयो—यहाँको स्वतन्त्रताले मलाई आकर्षित ग¥यो । यहाँको विधिको शासनले मलाई आकर्षण ग¥यो । त्यस्तो आकर्षण भनेर खासै केही त होइन, पोल्यान्डकी महिलासँग बिबाह गरेपछि उनकै जस्तो व्यवहारलाई निरन्तरता दिनका लागि , त्याग गरेको भनौँ कि के भनौँ, अहिले नर्वेमा स्थायीरुपमा रहेको छु । मलाई नेपालको मात्र सम्झना आउँछ , केही पहिले पनि नेपाल गएर आएको हुँ । त्यसो त मेरा दाजुहरु पनि कोही बेलायतमा, कोही क्यानाडामा हुनुहुन्छ । मलाई लाग्छ , भ्याएमा एक महिनामा दुई हप्ता नर्वेमा एक हप्ता नेपालमा अनि अर्को एक हप्ता फेरि नर्वेमा बसौँ झैँ लाग्छ । नेपालको भन्दा यहाँ कानुनको परिपालना र नियमबद्ध जीवन नै मेरो आकर्षणको कुरो हो । हामीले नेपालमा कसरी विधिको पालना गर्ने भन्ने अभ्यासको अझै कमी देखेका छौँ जुन कुरा मैले यहाँ आउने विधि निर्माताहरुलाई भन्ने पनि गरेको छु ।

अनि मैले उहाँको पेसासम्बन्धी कुरा सोधेँ—नर्वेमा दाँतका मुख्य समस्या के देख्नुभयो ? उहाँका भनाइ थियो—दाँतमा धेरै कीरा पर्छ गुलियोले । त्यसको उपचार धेरै गर्नुपर्छ । दाँतका उपचारसम्बन्धमा नर्वेको नियम के छ भन्ने मेरो प्रश्नमा उहँको जबाफ थियो —नर्वेमा १८ वर्षको उमेर सम्म दाँतका सबै उपचार निःशुल्क गर्छ सरकारले , २० वर्षसम्म लागेको खर्चको ७५प्रतिशत सरकारले बेहोर्छ , त्यसपछि लाग्ने सबै खर्च विरामीले आफैँ बेहोर्नुपर्छ । अनि मैले अत्यन्त व्यक्तिगत प्रश्न गरेँ—औसत तपाईँजस्तो उच्च प्राविधिकको कमाई कति हुन्छ ? उहाँले स्पष्टरुपमा भन्नुभयो —त्यस्तै हो, सबै उच्च प्राविधिकको जस्तै सबै कर कटाएर ३०—३५ हजार क्रोनर आउँछ । म त कमाउने भन्दा पनि सबैलाई सहयोग गर्ने र रमाइलो गर्ने मान्छे हो , मलाई कमाउने कुरामा खासै चासो छैन पनि । नेपाललाई कसरी सहयोग गर्ने हो , त्यसैमा लागेको छु ।

एउटा प्रसङ्गमा भन्नुभयो—नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा नर्वे आउँदा मैले भनेँ कि तपाईँहरुले योजना बनाउँदा र कार्यान्वयन गर्दा हामीजस्ता स्वास्थ्य सम्बन्धी विज्ञता हासिल गरेका मानिसहरुलाई सल्लाहकार बनाउनु भयो भने हामीले विदेशमा आर्जन गरेको शिक्षा र अनुभवले सल्लाह र सहयोग गर्ने थियौँ । आधारभूत कुराहरुमध्ये शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिने हो भने मुलुकमा आधारभूत आवश्यकतामा कमी आउने थिएन । तत्कालै शिक्षा र स्वास्थ्यमा जनताको आवश्यता पूरा गर्ने गरी परिवर्तन गर्न सके प्रभावकारी परिणाम आउने थियो जसले नेपालीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन देखापर्थाे ।

अन्तमा मैले सोधेँ—नर्वेको गैर आवासीय नेपाली संघको २०१९—२१कार्यकालको निर्वाचन हुँदैछ अगस्ट ३१मा । त्यसमा तपाईँको भूमिका वा निर्वाचन सम्बन्धी चासो के छ ? उहाँले अब आफू सक्रियरुपमा गैर आवासीय नेपाली संघको क्रियाकलापमा संलग्न नहुने विचारमा रहेको बताउनु भयो । अनि उहाँले भन्नुभयो—नेपालको स्वास्थ्य शिक्षामा कसरी सहयोग गर्न सकिन्छ भन्ने चासोचाहिँ ममा छ र म त्यसका लागि लागिरहने छु ।

LEAVE A REPLY