Home मुख्य समाचार गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपा तत्काल सरकारी जग्गाबाट बाहिरियाेस् : नेपाली कांग्रेस

गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपा तत्काल सरकारी जग्गाबाट बाहिरियाेस् : नेपाली कांग्रेस

243
0
SHARE

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले नेकपाको प्रतिवेदनबारे कडा टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो दललाई हेर्ने सत्तारुढ नेकपाको दृष्टिकोण देखेर दया लागेको बताएका छन् ।

नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने बताउँदै उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ, दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

प्रवक्ता शर्माले कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।

नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता खरोसँग उत्रन नसकेको उल्लेख छ । साथै भ्रष्टाचारविरुद्ध खडा हुन नसक्ने मात्र होइन, कयौं सन्दर्भमा भ्रष्टचारमा संलग्नलाई संरक्षण नै दिएको नेकपाको आरोप छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो छ 

आदरणीय पत्रकार साथीहरु

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

केन्द्रीय कार्यसमितिको जारी बैठकले पार्टीको घरेलु जिवनका सम्बन्धमा र राष्ट्रिय राजनीतिका ज्वलन्त मुद्दाबारे आवश्यक महत्वपूर्ण निर्णयहरु गर्न लाग्दैछ । यसबारे हामी यथा समयमा विवरण सार्वजनिक गर्ने नै छौँ । आजको पत्रकार सम्मेलन तत्कालका केही विषयवस्तु माथि केन्द्रित रहेको छ ।

१‍ ट्रेड यूनियन अधिकार सम्बन्धमा

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, संचालन र संवादका सर्त’सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत छ ।

ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ, तर तिनलाई घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसंगत सम्झौता गर्न सकिन्नँ । नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था, जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा छ र रहनेछ ।

२ तथ्यको जगमा सत्यको खोजी गरी कारबाही गर्न माग

गोंगबु बसपार्कको प्रकरणप्रति हाम्रो ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमतिभन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वले आयोगलाई अनधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ । नेपाली कांग्रेस यससम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।

३ कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिदोषबारे

कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणबारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने नै छ । अहिलेलाई केवल यति टिप्पणी त्यो दस्ताबेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ । दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।

नेपाली कांग्रेसले स्थापनाकाल देखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको छ । बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डोर्याउने प्रयत्न गरी आएको छ । यो मान्यताले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ । हामी विश्वस्त छौँ यो मान्यता बमोजिमको मानसिकता निर्माण गर्ने सामथ्र्य विकास गर्न सकेका दिन सत्तारुढ कम्युनिष्ट पार्टीको दृष्टिदोषको समाधान हुनेछ ।

४ नैतिकतालाई थप लज्जित नबनाइयोस्

सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुःखी तुल्याएको छ । सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।

जय नेपाल

विश्वप्रकाश शर्मा
श्रावण २३, २०७६    प्रवक्ता

LEAVE A REPLY