Home ताजा समाचार जनैपूर्णिमा पर्व कसरी मनाइन्छ ? शास्त्रीय महिमासहित हेर्नुहोस्

जनैपूर्णिमा पर्व कसरी मनाइन्छ ? शास्त्रीय महिमासहित हेर्नुहोस्

378
0
SHARE

उपप्राध्यापक नारायणप्रसाद निरौला
नेपाल संस्कृत विश्वविद्यालय
वाल्मीकि विद्यापीठ

विषयप्रवेश
श्रावण शुक्ल पूर्णिमाको दिनलाई ऋषितर्पणी अर्थात् जनैपूर्णिमा भनिन्छ । यस वर्ष २०७६ साल श्रावण ३० गते बिहीबारका दिन यो पर्व परेको छ । यस दिन श्रावणी स्नान, तर्पण, सप्तर्षिपूजन, यज्ञोवीत अर्थात् जनैको पूजा, रक्षाबन्धन पूजन एवं धारण गर्ने शास्त्रीय विधि विधान रहेको छ । याज्ञवल्क्य ऋषिले ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेको दिन पनि श्रावण शुक्ल पूर्णिमा हो ।

आर्ष परम्पराको विशिष्ट पर्व ऋषितर्पणी अर्थात् रक्षाबन्धन हो । यस दिन श्रावणीस्नान, ऋषितर्पण, अरुन्धती सहित सप्तऋषि पूजन, यज्ञोपवीत अर्थात् जनै पूजन, रक्षाबन्धन पूजन एवं धारण गर्ने कार्य हुने गर्दछन् । वर्षदिनभरी भए गरेका ज्ञात अज्ञात पाप जन्य कार्यको प्रायश्चित्त गर्ने समयका रूपमा पनि यस दिनलाई उपयोग गरिन्छ । शरीर र चित्त दुवैलाई निर्मलीकरण गरी पवित्र भावनाको विकास गर्ने कार्यमा यस पर्वले विशेष सहयोग गर्दछ । श्रावणी स्नानले शरीर शुद्ध हुन्छ भने देवता, पितृ एवं ऋषिको तर्पण तथा पूजनले मानसिक चित्तलाई निर्मल बनाउँछ । उक्त पवित्रताको कवच स्वरूप यज्ञोपवित अर्थात् जनै र रक्षाबन्धन धारण गर्ने विधान रहेको छ । धर्मसिन्धु, निर्णयसिन्धु, व्रतराज, कर्मकाण्ड भास्कर लगायतका ग्रन्थमा श्रावणी उपाकर्मको विधान गरिएको छ ।

 श्रावणी स्नान
श्रावण शुक्ल पूर्णिमाका दिन प्रातकालीन शौचादि गरी तीर्थ वा नदी तलाउमा गई विशेष महासङ्कल्प पूर्वक स्नान गरिन्छ । महासङ्कल्प विशेष कर्ममा मात्र प्रयोग गरिन्छ । जसको विशेष महिमा रहेको छ । यसरी स्नान संकल्प पश्चात् गंगा माताको प्रार्थना हुने गर्दछ । वरुणादि तेत्तिसकोटि देवताको विशेष स्मरण पनि यसै समयमा गरिन्छ ।

संकल्प पश्चात् नदी वा तलाउको किनारमा गई जललाई चलाएर अभिमन्त्रण गरिन्छ । त्यसपछि पानीलाई आफ्नो अनुकुल बनाएर जलाञ्जली अर्पण हुने गर्दछ । यसपछि मृत्तिका स्नान गरिन्छ । मृत्तिका स्नान भनेको माटोले नुहाउने हो । शुद्ध माटोलाई तीन भाग गरी शरीरका भिन्न भिन्न अंगमा लेपन गरिन्छ । यसको पनि विशेष विधान रहेको छ । पहिलोभाग माटो वायाँ हातले शरीरको नाभिभन्दा तल्लो भाग कटी प्रदेशमा लगाउनु पर्दछ । हात धोएर पुनः अर्को भाग माटो दायाँहातले ॐ अश्वक्रान्ते रथक्रान्ते….भन्ने मन्त्रले अभिमन्त्रण गरेर शरीरको वस्ती, तिघ्रा, पिँडुला, खुट्टा, हातमा लेपन गरिन्छ । पुनः हात धोएर माटोको तेस्रो भाग ॐ इदं विष्णुर्विचक्रमे…भन्ने मन्त्रले अभिमन्त्रण गरी दायाँ हातले निधारदेखि नाभिसम्म लेपन गर्नुपर्दछ भने वायाँ हातले नाभिभन्दा तलको भागमा लेपन गरिन्छ । यसरी शरीरका सम्पूर्ण अङ्गमा माटो लेपन गरिसकेपछि जलले पुनः स्नान गरिन्छ ।

माटोले स्नान गरेपछि पुनः गाईको गोवर शरीरका विभिन्न अंगमा घसेर स्नान गरिन्छ । जसले शरीरका सम्पूर्ण मयल एवं रोग व्याधि टाढै राख्ने गर्दछ । गोमय अर्थात् गोवर लेपन विधि पनि शास्त्रमा बताइएको छ । ॐ अग्रमग्रं चरन्तीनामोधीनां वने वने……भन्ने मन्त्र ले गोमयलाई अभिमन्त्रण गरी विनियोगपूर्वक ॐ मानस्तोकेतनयेमान….भन्ने मन्त्रले जल सहित गोबर सूर्यलाई देखाएर माटो लेपन गरेजस्तै गरी गाईको गोवर शरीमा लगाई पुनः पानीले शरीर पखालिन्छ ।

यसछि शरीरमा भस्म लेपन गरिन्छ । भस्म लेपनको पनि विशेष विधान रहेको छ । सर्वप्रथम ॐ अग्निरितिभस्मवायुरितिभस्म….भन्ने मन्त्रले अभिमन्त्रित गरी निधार आदि अंगमा भस्म लेपन गर्दै कुम्भमुद्रा(नाक थुनेर)ले डुवुल्की मारी आठ पटक स्नान गर्नुपर्दछ । भस्म स्नानले शरीरलाई शुद्ध बनाउने गर्दछ ।

यसपछि कुशले शरीरलाई शुद्ध बनाउने कार्य आरम्भ हुन्छ जसलाई दर्भमार्जन    भनिन्छ । कुशको टुप्पाले जल शरीरमा सेचन गर्नु नै मार्जन हो । शरीरका प्रत्येक अंगमा कुशजलले मार्जन गर्नुपर्ने विधान रहेको छ । यसपछि अपामार्गले मार्जन  गरिन्छ । अपामार्ग भनेको दतिउन हो । जसले पनि शरीरका प्रत्येक अंगमा मार्जन गरिन्छ । त्यसपछि दुवोले शरीर शुद्ध गरिन्छ । जसलाई दुर्वा मार्जन भनिन्छ । आफ्ना सम्पूर्ण पापा नाश हुन् भनी अँजुलीमा पानी लिई नाकमा छुवाई फ्याक्ने कार्य यसपछि हुन्छ । यसरी स्नान गरिसकेपछि स्नानाङ्ग तर्पण गरिन्छ । जसमा ब्रहमादि देवता तर्पण, सनकादि ऋषि तर्पण, कव्यवाडनलादि पितृतर्पण पर्दछन् । यस पश्चात् रोग नाश होस् भनी यक्ष्म तर्पण गरिन्छ । यसरी तर्पण पश्चात् निधारमा चन्दन लेपन गर्ने विधान रहेको छ । यसरी चन्दन लेपन गरिसकेपछि सूर्य भगवान्को विनियोगपूर्वक वैदिक सूक्तद्वारा आराधना गर्नुपर्दछ ।

 सप्तर्षिपूजन, यज्ञोपवीत एवं रक्षाबन्धन पूजन
यसरी स्नान पश्चत् दीप कलश गणेश स्थापना गरी षोडशोपचारले अरुन्धती सहित सप्तर्षिको पूजा आराधना गरिन्छ । ऋषि हाम्रा पुर्खा र मार्गदर्शक हुन् । विशेष प्रकराले ऋर्षिको आह्वान ध्यान पूजन पश्चात् यज्ञोपवीत अर्थात् जनैको पूजा हुन्छ । प्राणप्रतिष्ठा पूर्वक जनैका हरेक तन्तुहरूको पूजा गर्नुपर्ने शास्त्रीय विधान रहेकोे छ । यसैगरी सम्पूर्ण ग्रन्थी(जनैका गाँठा वा शिखा) को पनि पूजा हुन्छ । प्रत्येक तन्तु र ग्रन्थीमा भिन्ना भिन्नै देवताको आह्वानका साथै वैदिक मन्त्र पनि उच्चारण गरिन्छ । ९६ वटा धागोले बनेको जनैको आफ्नै महिमा रहेको छ । सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने जनैमा ब्रहा, विष्णु महेशका साथै गायत्री, सावित्री र सरस्वतीको आभिर्भाव गरिएको हुन्छ । यसैगरी रक्षा सूत्रको पनि विशेष वैदिक मन्त्र सहित पूजा हुने गर्दछ । गायत्रीको विशेष जाप पनि यस अवसरमा गरिन्छ । वैदिक सूक्तहरूले यज्ञोपवीतको पूजन पश्चात् मात्र यज्ञोपवीत अर्थात् जनै शरीरमा धारण गर्नका निम्ति योग्य हुन्छन् ।
यसरी विशेष अभिमन्त्रण गरिएका जनै वर्षदिनका लागि अभिमन्त्रित रहन्छन् । अभिमन्त्रण नगरेको जनै धारण गर्नु हुँदैन । सुतक, मृतक पश्चात् यज्ञोपवीत(जनै) परिवर्त गर्ने शास्त्रीय विधान छ । सामान्यतया एक पटकको जनैले तीन महिना धान्छ । अर्थात् एउटा जनै तीन महिनासम्म मात्र लगाउने शास्त्रीय विधान छ । सो पश्चात् पुनः अर्को फेर्नु पर्ने हुन्छ । यज्ञोपवीत अर्थात् जनै धारण गर्दा निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ –
ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजातेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्ग्र्यं प्रतिमुञ्चशुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।। (नित्यकर्म–पूजाप्रकाश, पृ. ३८)
नयाँ जनै धारण गरिसकेपछि पुरानो जानैलाई विर्सजन गर्ने पनि विधान छ । पुरानो जनैलाई शुद्ध पवित्र स्थानमा विसर्जन गर्नुु पर्दछ । उक्त विसर्जन गर्ने पनि विशेष मन्त्र रहेको छ –
एतावद्दिनपर्यन्तं ब्रह्म त्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। (नित्यकर्म–पूजाप्रकाश, पृ. ३९)
यसरी पवित्र स्थानमा पुरानो जनैलाई विसर्जन पश्चात् गाउत्रीको जप गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

रक्षाबन्धन
रक्षा सूत्रको पनि विशेष महिमा रहेको छ । जसमा सम्पूर्ण देवी देवताको आह्वान गरिएको हुन्छ । जसले हाम्रो शरीरमा रक्षा कवचको काम गर्दछ । उक्त सूत्रको विशेष विधिपूर्वक पूजन एवं वैदिक मन्त्रद्वारा अभिमन्त्रण भएको हुन्छ । यसरी अभिमन्त्रण गरिएको सूत्र मात्र धारण गर्नको निम्ति योग्य मानिन्छ ।

येनबद्धो वलि राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। (न.ेस.ंवि. पञ्चाङ्गम् –२०७५, पृ. ६१)
भनी रक्षा सूत्र धारण गर्ने शास्त्रीय विधान रहेको छ । जसलाई रक्षा बन्धन पनि भनिन्छ । वैदिक सूक्तद्वारा अभिमन्त्रित रक्षासूत्रले हाम्रो रक्षा गर्ने भएकाले पनि धारण गर्नु आवश्यक देखिन्छ ।

वर्षदिनसम्म भए गरेका ज्ञात अज्ञात समस्त पापको क्षय पूर्वक आयु आरोग्य र ऐश्वर्यको कामना गर्ने विशेष दिनका रूपमा पनि यस दिनलाई लिइन्छ । यसैगरी विभिन्न गेडागुडीलाई भिजाई टुसा उमारेर अर्थात् क्वाटी बनाई खाने प्रचलन पनि हाम्र समजमा रहेको छ । यसैगरी रक्षा बन्धनलाई राखीका रूपमा पनि मनाउने चलन रहेको छ । चेलीवेटीले आफ्ना दाजु भाइको दीर्घ आयु आरोग्यका निम्ति पनि विशेष रक्षासूत्र ‘राखी’ बाँध्ने चलन रहेको छ ।

हामी संस्कृतिमा धनी छौँ । हाम्रा चाड पर्व वेदबाट अनुप्राणित छन् । वैदिक कालदेखि नै यस्ता परम्परा निरन्तर चलिरहेका छन् । धार्मिक आस्थासँगै साँस्कृतिक पहिचान पनि यस्ता पर्वले बोकेका छन् । प्रयश्चित्तका निम्ति पनि यस दिनलाई उपयुक्त मानिन्छ । सम्पूर्ण पापको मोचन गरी आत्मिक पवित्रता प्रदान गर्नु यस्ता पर्वको विशेष उद्देश्य रहेको छ । सनातन वैदिक परम्परामा चलिआएका रीति स्थितिको संरक्षण र संबर्धन आज आवश्यक छ । रक्षासूत्र, यज्ञोपवीत हाम्रा पहिचान हुन् । जसको उचित संरक्षण एवं सम्बर्धन गर्नु हामी सबैले गर्नुपर्दछ ।

LEAVE A REPLY