Home ताजा समाचार आज श्रीकृष्णजन्माष्टमीव्रत, गौरापर्व पनि महिमासहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ६ गते

आज श्रीकृष्णजन्माष्टमीव्रत, गौरापर्व पनि महिमासहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र ६ गते

175
0
SHARE

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको ६ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको अष्टमी तिथि राति ३।२० बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । कृत्तिका नक्षत्र राति १२।९ बजेसम्म रहनेछ । आज ध्रुव योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ५।३८ मा छ भने सूर्यास्त बेलुका ६।३३ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज श्रीकृष्णजन्माष्टमीका साथै गौरापर्व पनि परेको छ । भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंस कारागारमा भगवान्् श्रीकृष्ण भगवान्को जन्म भएको दिनलई श्रीकृष्ण जन्माष्टमी भनिन्छ । अँधेरी रातमा जन्मिएर पनि संसारलाई उज्यालो ज्योति प्रदान गर्ने भगवान््को महिमा अपरम्पार छ । विशेषतः कर्मयोगका गुरु भगवान्् श्रीकृष्ण रहेकोले पनि कर्मयोगी आम मानव समुदायका निम्ति यो दिन विशेष रहने गर्दछ । संसारलाई कर्मको बाटोमा हिँड्न अभिपे्ररित गर्ने द्रष्टाको जन्म भएको दिन नै श्रीकृष्ण जन्माष्टमी हो । भक्ति र ज्ञानको पाठ पनि श्रीकृष्ण चरित्रबाट प्राप्त गर्न सकिन्छ ।

भगवान् श्रीकृष्णलाई विष्णु भगवान्को पूर्णअवतारका रूपमा लिइन्छ । अधर्मको नाश र धर्म संथापनाका निम्ति भगवान्ले अवतार ग्रहण गर्नुभएको हो । श्रीकृष्ण लीलावतारका थुप्रै प्रसङ्गहरू रहेका छन् । ती मध्ये धर्म संस्थापन प्रमुख उद्देश्य हो । प्रत्येकको कर्मले मागी ल्याएको पूरा गर्न नै भगवान्को पदार्पण भएको हो । सर्वशक्तिमान् परमात्माले कंसको कारागारमा जन्म लिइसकेपछि पनि नन्द र यशोदाकहाँ पुग्नु पर्ने कारण असुरक्षा होइन । नन्दबाबा र यशोदाको मनोकांक्षा जन्म जन्मान्तरको कर्मभोगलाई फलितार्थ गर्न नै भगवान्को बाल्यकाल गोकुलमा वितेको हो । यसैगरी भगवान््को गोकुलसँग सम्बन्धित अन्य थुप्रै विषय पनि अन्तर्निहित रहेका छन् । राधासँगको जीवन्त प्रेम प्रकट गर्नु पनि अर्को कारण थियो । यसैगरी यमुना नदीलाई पावन बनाउन पनि नन्दगाँउसम्मको यात्रा तय गर्नु परेको हो । यसमा हरेक पद पदको भिन्ना भिनै अर्थ रहेको पाइन्छ । सुदामासँग मित्रभाव, गाईप्रतिको विशेष आदरभाव, गोपिनीको व्रत पूरा गर्न अनि बलरामलाई पनि दाजुको रूपमा वरण गरी बाल्यकालीन लीला दर्शाउन गराउने उद्देश्य पनि अन्तर्निहित रहेको पाइन्छ । अघासुर, बकासुर, धेनुकासुर, तृणावर्त आदिलाई अन्त्य गर्नु, पूतनाको उद्धार गर्नु, कालेय नागको अन्त्य गर्नु आदि पनि सोही प्रसङ्गमा आएका हुन् । जसले जस्तो कर्मको भोग लिएर आएका थिए ती सबैको उद्धारका निम्ति पनि भगवान्ले लीला ग्रहण गर्नु भएको हो ।

आज श्रकिृष्ण भगवान्को व्रत उपासनाका साथै रात्रिकालीन समयमा भगवान्को आराधना गर्नाले समस्त मनोकामना पूर्ण हुने गर्दछन् । यसैगरी आज गौरापर्व सुदूरपश्चिममा गौराको पूजा आराधनाका साथ भव्य रूपमा मनाइन्छ । गौरापर्वमा देउडा गीत एवं नृत्य प्रस्तुत गर्ने पनि चलन रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY