Home देश अनन्तलिङेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न

अनन्तलिङेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न

70
0
SHARE

मध्यपुरथिमि, १८ भदौ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित प्रसिद्ध अनन्तलिङेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको उक्त मन्दिरको पुनःनिर्माण रु एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले गरेको हो । ०७२ वैशाख १२ को भूकम्पमा भत्किएर पूर्ण क्षति पुगेको उक्त मन्दिरको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भएको हो ।

मन्दिरको दुई तहको तामाको छानो रु ४४ लाखको लागतमा छाउने कामसमेत सम्पन्न भएको स्थानीय समाजसेवी एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो । त्यस्तैगरी स्थानीयवासी कुमार उप्रेतीको रु चार लाखको सहयोगमा मन्दिरमा स्वर्ण गजुर प्रतिस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

भूकम्पले क्षति पु¥याउनु अघि परम्परागत गुम्बज शैलीमा रहेको उक्त मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको अनन्तलिङ्ेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष शालिग्राम न्यौपानेले जानकारी दिनुभयो । उक्त महादेव मन्दिर भगवान शिवको ६४ औं ज्योतलिङ्गमध्येको एक भएको धार्मिक विश्वास छ ।

सातौं शताब्दीको मानिएको मन्दिर १९९० सालको भूकम्पअघिसम्म दुईतले प्यागोडा शैलीको थियो । मन्दिरको पहिलो तलाको चारैतिर थप छाना थियो । उक्त शैलीलाई ग्रन्थकुट एवं कैलाशकुट पनि भनिने गरिन्छ । भगवान शिवका धेरैजसो मन्दिर ग्रन्थकुट एवं कैलाशकुट शैलीका छन् । भारतको उत्तराखण्डस्थित केदारनाथको मन्दिर पनि ग्रन्थकुट शिखर शैलीको मन्दिर हो । तर, अनन्तलिंगेश्वर महादेव मन्दिर भने ग्रन्थकुट प्यागोडा शैलीमा पुनःनिर्माण गरिएको बताइएको छ ।

त्यसैगरी अनन्तलिङ्ेश्वर मन्दिर प्रवेशद्वार अगाडि रहेको अनन्त झुला तथा झोलुङ्गे पुलको समेत निर्माण सम्पन्न भएको छ । रु २५ लाख १५ हजार ५२८ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । निर्माण सम्पन्न मन्दिर र पुलको आगामी सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
रासस

LEAVE A REPLY