Home ताजा समाचार बिपी विचारका पथिक र पन्थ

बिपी विचारका पथिक र पन्थ

169
0
SHARE

-पुरुषोत्तम दाहाल-

अहिले नेपाली कांग्रेसमा बिपीका विचारहरूको स्वतन्त्र परिभाषा र आग्रहको विकास हुन लागेको छ। हुन त विचारको शृंखला अनन्त हुन्छ। उपस्थितिको पृथक कोणका आधारमा दृष्टिकोण विकास भइरहेको हुन्छ। को कता कुन दिशातिर फर्केर बसिरहेको छ, हेरिरहेको छ र कसरी सोचिरहेको छ, त्यसेैका आधारमा उसका दृष्टिकोण विकास भइरहेका हुन्छन्। समर्थ मानिसले आफैँ विचार निर्माण गर्छ।

असमर्थ मान्छे अरूका विचारलाई लिएर बहस गरिरहेको हुन्छ। अरुका कृति अध्ययन गरेर विद्वान् मानिनु र अरूका विचारलाई लिएर पौँठेजोरी खेल्नु समान हुन्। हामी नितान्त अहिले कुनै नवीन विचार सिर्जना गरिरहेका छैनौँ। अरूका विचारको परिभाषा र व्याख्यामा हाम्रो समय अवशिष्ट हुँदै गएको छ। सिर्जना भन्दा पनि समालोचना र समीक्षा गर्नु सजिलो हुन्छ।

हामी सबैजना सजिलो काममा ब्यस्त छौँ। खासगरी जीवन र मृत्युदेखि समाज विकास र विनाशको दर्शनलाई जसले पनि आफ्नो चिन्तनचेत, अनुभव र तृतीय चेतद्वारा प्राप्त ज्ञानोत्पादित सामग्रीहरूका आधारमा बहस गरिरहेको हुन्छ। र, आफूले बुझेको सत्यलाई विस्तारित गर्ने प्रयास गर्छ। ठूला दार्शनिकहरूका अनुयायीहरूका अहंकारका कारण पूर्वजहरूका ती विचार चिराचिरा परिरहेका छन्। अनेक पन्थहरू निर्माण भइरहेको छ। बिपी कोइरालाका विचारहरूमा समेत पन्थको प्रवेश देखिन लागेको छ। कार्ल माक्र्सको भौतिकवादी समाजशास्त्रीय चिन्तन र निष्कर्ष अहिले ‘भांंग्राको धोतीलाई गुएलाको फूल’ सिद्ध भएको छ। सवा सय वर्षपहिलेको समाजको अध्ययनबाट समाजबारे गरिएको विश्लेषण क्रमशः मानिसका आवश्यकताहरूले, भौतिक आविष्कार र त्यसका परिणामहरूले  फरक कोणमा किनारा लगाइरहेका छन्।

विचारको स्थायित्व र अमरत्व रहन्छ तर त्यसलाई जीवन्त र निरन्तर ग्रहणशील बनाउन अनुयायीहरूको आवश्यकता पर्छ। अनुयायीबिना विचार इतिहासको कुनै अध्यायको कुनै पृष्टमा हेर्नुपर्ने हुन्छ। माक्र्सवादको आन्तरिक पक्ष अबका दिनमा उनकै दास क्यापिटल, कम्युनिस्ट मेनिफेस्टो वा उनका छरिएका अरु रचनामा खोज्नुपर्नेछ। प्रयोगमा कतै पनि देखिँदैन। प्रयोगका नाममा निरंकुशता र वर्ग संघर्षको खेतीमार्फत् सम्पूर्ण सत्तामाथि केही व्यक्तिको नियन्त्रण स्थापित हुन पुग्यो तर माक्र्सका विचारहरूको प्रयोग भएन।

अनुयायी संसारमा धेरै छन् तर ती यथार्थमा माक्र्सवादका नाममा आफ्नो नियन्त्रण स्थापित गर्ने महत्वाकांक्षीहरूको जमातबाहेक केही पनि हुन नसकेको इतिहास प्रमाणित विषय हो। त्यसो त आध्यात्मिकता र राजनीतिलाई अन्योन्याश्रित मान्ने गान्धीको विचारको शृंखला पनि पूर्णतः कार्यान्वयनमा आएको छैन। गान्धी विचारले त समाजलाई आदर्श सेतु निर्माण गर्ने प्रयास गरेको छ। अब ती विचार जसरी माक्र्स आफ्नै जन्मभूमि जर्मनीमा भेटिँदैनन् विस्तारै गान्धी विचार पनि जयन्तीको पूजा अर्चनामा सीमित हुन लागेको प्रतीत हुन्छ। बिपी विचारको अर्थवत्ता पनि यसरी नै अल्झिएको, जेलिएको अवस्थामा देखिन्छ।

सन्दर्भ बिपी जयन्तीको हो। अहिले बिपीका अनुयायीहरू आफ्नो विश्वासअनुसार उनका विचारहरूको चिरफार गर्नमा ब्यस्त छन्। बिपीका नाममा स्थापित धेरै संस्था छन्। ती संस्था आफैँ फरक स्कुल जस्ता देखिँदैछन्। बिपीकै नाममा व्यक्ति राजनीतिको खेती उन्नत छ। बिपीका सच्चा अनुयायी बन्ने होड पनि कम छैन। त्यही होडले बिपीको वैचारिकतामा अनेक पन्थको धार देखिन लागेको हो। वर्तमान परिवर्तनको अन्तिम नायक गिरिजाप्रसाद कोइरालाका कर्महरूको परिभाषाले विस्तारै बिपीका विचारलाई ओझेलमा पु¥याउने र बिपी विचारलाई फरक कोणहरूमा परिभाषित गरी पन्थमा रूपान्तरित गर्ने वातावरण सिर्जना भएको छ।

नेपालको राजनीतिमा कोइराला परिवारका धेरै सदस्यको योगदान अविश्मरणीय छ। कृष्णप्रसाद कोइरालाबाट आरम्भ त्यस योगदानको वटवृक्षमा दिव्या, नोना र शैलजाहरूको समेत समान योगदान छ। यदि कृष्णप्रसाद कोइरालाले बजाएको सामाजिक र राजनीतिक परिवर्तनको प्रतीकात्मक बाँसुरीमा मातृका, बिपी वा गिरिजा र केशव नजोडिएको भए सम्भवतः त्यस परिवारको कुनै इतिहास रहने थिएन। यीमध्ये पनि बिपी विचारका हिसावले आजसम्मको नेपाली लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताको प्रथम भाष्यकार भएका छन्। तर नेपालमा अहिले राजसंस्था उन्मूलन गरी प्राप्त गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताका सिद्धान्तहरूको जगमा गिरिजाप्रसादको योगदान छ। यी विचारलाई गिरिजाप्रसादले परिभाषित गरेका होइनन्, उनले प्रतिक्रियाका आधारमा तय गरेका बाटा हुन् यी। यी यथार्थमा राज्यका संयन्त्र हुन्। विचार त राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हो। जसलाई नेपालको सन्दर्भमा बिपी कोइरालाले नै पहिलोपल्ट परिभाषित गरेका हुन्।

राज्यसंयन्त्रमा परिवर्तन गर्ने गिरिजाप्रसादका कर्महरूको छायाँ र तिनलाई सैद्धान्तिकीकरण गर्ने प्रयासमा बिपीले परिभाषित गरेका सिद्धान्तको डोरी ओझेलमा पर्न लागेको हो कि भन्ने संशय कांग्रेसभित्र विकास हुन लागेको पन्थको अन्तर्य हो। गिरिजाप्रसादका कारण बिपीका विचार छायाँमा परेको ठान्नेहरूले धर्मको विषय र गणतन्त्रको विषयलाई रुढ तहमा विमर्श गरेको सुनिन्छ। शक्ति सन्तुलनका सन्दर्भमा बिपी तत्काल राजसंस्थासँग उदार रहे पनि उनले जनविरोधी राजसंस्था र राजालाई जनताले कुनै पनि हालतमा अस्वीकार गर्ने निर्णय विचार प्रस्तुत गरेका थिए। निजी जीवनमा उनी हिन्दु पररम्परा र संस्कृतिभित्रका थिए तर राज्यलाई धर्मसँग जोड्ने विषयलाई उनी पाखण्डको संज्ञा दिन्थे। उनका अनेक विचार साहित्यमा यी तर्क पढ्न पाइन्छ। बिपीवादका अनन्य अनुयायीहरूले अहिले आएर राजसंस्थाको पक्षमा, धर्मराज्यका पक्षमा अनावश्यक जिरह गर्नुको कुनै औचित्य छैन।

गिरिजाप्रसाद कोइरालाले धर्म र गणतन्त्रका सम्बन्धमा निर्णय गर्दा चुइँक्क एक शब्द नबोली ल्याप्चे ठोक्दै संसद्मा बस्ने अनि कोइरालाको प्रिय हुन अनेक प्रपञ्च रच्नेहरू अहिलेको कांग्रेस नेतृत्वमाथि आक्रामक भएको सुनिन्छ। तर यो निर्णय गर्ने÷गराउने नायक गिरिजाप्रसाद कोइराला हुन् नि ? धर्म राज्यको वा राजसंस्थाका विषयमा कुरा गर्ने कोइराला वंशका धरोहर, उत्तराधिकारीहरू र अनुयायीहरूले गिरिजाप्रसादलाई यतिखेर अस्वीकार गर्न र उनको आलोचना गर्न सक्छन् त ? समाजवाद पनि रुढ मान्यता होइन। आर्थिक सामाजिक रूपान्तरणको माध्यम र आधारमात्र हो।

खासगरी उल्लिखित तीनवटा सन्दर्भमा पन्थको निर्माण हँुदैछ। पहिलो– बिपीले तत्कालको आवश्यकताका आधारमा लिएको नीति राष्ट्रिय एकता तथा मेलमिलापको सान्दर्भिकता। दोस्रो– बिपीले त्यस समयमा परिभाषित गरेका समाजवाद र तेस्रो– बिपीको धर्मप्रतिको दृष्टिकोण। यी तीनवटा विषयमा अहिले नेपाली कांग्रेसका अनेक दिग्गजहरूका मतभिन्नता सार्वजनिक भएको सुनिन्छ। जब विचार सिद्धान्तमा रूपान्तरित हुन्छ त्यसले आयामिक मार्गको खोजी गर्न लाग्छ। समाज विकासलाई अग्रगति दिने, यसलाई गतिशील बनाउने र विकास र विनाश गर्ने भनेकै सिद्धान्त र आविष्कारहरू हुन् जो मानिस आफँैले निर्माण गरेका हुन्। कुनै तृतीय ग्रहबाट विचारको स्फुरण भएको होइन।

विचारका सन्दर्भमा मानिसले जे÷जति चिन्तन, दर्शनहरू प्रस्तुत गरेका छन् ती सबै संसारको निर्मितीपछिका उद्घाटनबाहेक केही पनि होइनन्। निर्मितीको रहस्यलाई ज्ञानचक्षुमार्फत खोल्ने प्रयत्न नभएका होइनन्। तर ती सबै संसार सिर्जना भन्दा निकैपछिका अनुमान हुन्। विचारले सिर्जनाको रहस्यलाई उद्घाटित गर्न सकेको छैन र निकट भविष्यमा समेत उद्घाटित गर्ने कुनै सम्भावना देखिँदैन। तर एउटा सत्य के हो भने विचारले नै समाजलाई परिष्कृति वा विनाश दुवैतर्फ धकेलिदिन सक्छ। बिपी विचार समाजलाई निर्मितीतर्फ अग्रसर गराउने चिन्तन हो। त्यो विचार चारैतिरबाट खाडलमा जम्मा भएको र कुनै निकास नभएको पानीको दह जस्तो होइन। समयअनुसार यसलाई गतिशील मान्नुपर्छ।

हिजोको नेपाली समाज, शासकीय शक्ति, अन्तर्राष्ट्रिय मान्यता र सम्बन्धहरू, आवश्यकता र आविष्कारहरूमा अहिले बृहत् अन्तर भएको छ। अब हिजोका दिनमा सुमाकरले भनेजस्तो ‘स्मल इज ब्युटिफुल’ को अवस्था छैन। प्रकृतिको दोहन, परीक्षण, प्रयोगका कारण विश्वव् यवस्थामा नै व्यापक परिवर्तन भइरहेको छ। यद्यपि यो अवस्था भविष्यका लागि घातक सिद्ध हँुदैन भन्न सकिँदैन। तैपनि आजको सन्दर्भमा बिपीले जे भने अक्षरशः त्यही लागु हुन सक्दैन। त्यस समयमा उनले भनेका, विचार गरेका र विवेचना गरेका अनेक विषय क्रमशः धुमिल हँुदै जाँदैछन्। ती विषय र विचारलाई आजको आवश्यकतासँग परिमार्जितरूपमा समायोजन गर्न सकेमा उपयोगी हँुदैनन् भन्न सकिँदेैन तर यथावत् उपयोग हुन सक्दैनन्।

अहिले नेपाली कांग्रेसले बिपी विचारको संयन्त्रको भूमिका निर्वाह गरिरहेको छ। यदि नेपाली कांग्रेस संगठित र सशक्त हुन सकेन भने गैरसरकारी संस्थाहरूले मात्र यस विचारलाई धान्न सक्दैनन्। बिपीका विचारलाई प्रयोग गर्दा यसको गतिशीलता बुझ्नु अनिवार्य छ। विचारमा नयाँ आयाम थपिन्छन्। कम्युनिस्टहरू जतिसुकै प्रगतिशीलताको संगीत बजाइरहे पनि उनीहरूको लक्ष्य पूर्णतः एकदलीय, निरंकुश र जनवादी केन्द्रीयतालाई नै मान्छन्। एमाले र माओवादीका बीचमा भएको एकता सहमतिपत्र केलाएर हेर्ने हो भने यस सत्यको आफँै पुष्टि हुन्छ। तर लोकतन्त्रमा विश्वास गर्नेहरू रुढ हुँदैनन्। गतिशील चरित्र हुन्छ लोकतन्त्रका मूल्यमा। सबैलाई अटाउन र स्वीकार गर्न सक्ने स्वभाव हुन्छ।

त्यसैकारण २००३ मा लिएको विश्वासमा अनेक आयाम थप्दै नेपाली कांग्रेस र नेपालको लोकतन्त्रको धारा अविश्रान्त छ। त्यस अविश्रान्त धारालाई अनावश्यक विवादको बाँधमा छेक्ने काम गर्नु लोकतन्त्रको विपक्ष सोच त हँुदै हो, यसले प्रथम भाष्यकार बिपीको समेत सम्मान हुँदैन। हो, बिपी विचार र वर्तमान परिवर्तनसँग आफूलाई पृथक राखेर बहस गर्ने स्वतन्त्रता सबैलाई हुनुपर्छ। तर बिपी विचारलाई अपव्याख्या गर्दै अनि वर्तमानका शासकीय सुविधाहरू ग्रहण गर्दै परिवर्तनको विरोध र बिपीको अनुयायी घोषित गर्नु कुनै पनि हालतमा राजनीतिक संस्कार मानिँदैन। बिपी जयन्तीका अवसरमा उनीप्रति श्रद्धा सुमन।

LEAVE A REPLY