Home ताजा समाचार राती १२ बजे घाम लाग्ने देशको कथा-१०

राती १२ बजे घाम लाग्ने देशको कथा-१०

889
0
SHARE

-हरिविनोद अधिकारी-

नर्वेको कथा अब कुनै प्रसङ्गमा लेखौँला , यो अङ्कबाट समापन गर्ने अनुमति चाहन्छु ।

१. नर्वे श्रमिकहरुका लागि स्वर्ग मानिँदो रहेछ किनभने त्यहाँ श्रमिकको पारिश्रमिकमा कुनै भेदभाव गरिँदो रहेनछ । जब नियमअनुसार श्रम बजारमा कुनै पनि श्रमिक प्रवेश गर्छ, त्यहाँको नियमअनुसार घन्टामा पाउने रकम बैँकमार्फत् भुक्तानी पाउँछ त्यो पनि कर कटाएर । जब कुनै पनि श्रमिकको कर काटिन्छ र सरकारको खातामा कर जान्छ, त्यही मितिबाट उसको सबै सुविधा सुरु हुन्छ । त्यो सुविधाको चरम स्वरुप भनेको पेन्सन हो जुन ६७ वर्षपछि श्रमिकले स्वतः पाउँछ ऊ संसारको जुनसुकै कुनामा किन नहोस् ।

२. नर्वे बस्ने अधिकार प्राप्त भएको कागजात पाउने बित्तिकै उसलाई सबै कुराको सुविधा हुन्छ । खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको । कुनै पनि रोजगारीमा प्रवेश गरेपछि र उसको पारिश्रमिकबाट कर काट्न थालेपछि त्यही हो स्थायी । सामान्यतया रोजगारीमा स्थायी या अस्थायी हुँदोरहेनछ , काम पाउनु नै स्थायी हो किनभने उपयुक्त कारणविना कसैलाई रोजगारीबाट हटाउन पाइँदैन । कुनै कारणले त्यो सँस्था नै टाट पल्टने अवस्था छ भने सरकारले त्यस श्रमिकलाई कामको व्यवस्था गर्नैपर्छ र उसलाई बेरोजगार बस्न दिँदैन । पाउने पारिश्रमिकमा कुनै पनि भेदभाव हुँदैन , सामान्यतया फरक होला तर आधारभूतरुपमा पारिश्रमिकमा अन्तर पाइँदैन । खासगरी सुत्केरी हुने महिलालाई त तलबी विदा हुन्छ नै, उसको रेखदेख गर्ने श्रीमानलाई पनि ३ महिना पूर्ण तलबी विदा दिइँदो रहेछ । बच्चालाई दिइने भत्ताको रकम अझ बेग्लै हुन्छ ।

३. स्वास्थ्य सेवा सुलभ छ अनुमति लिएर बसेका र रोजगारीका लागि अनुमति पाएकाका लागि । विद्यार्थीहरुका लागि आवासको व्यवस्था छ सशुल्क । नाममात्रको शुल्क लिइँदो रहेछ कुनै निश्चित समयका लागि । बच्चाका लागि कुनै पनि शुल्क लाग्दैन । वयस्कका लागि बिमाको रकमले बेहोरेको हुन्छ । प्रत्येक महिना पारिश्रमिक लिँदा नै आवश्यक बिमा र आयकर काटेर दिने हुनाले आफ्नो पारिश्रमिकका वारेमा श्रमिक सचेत भएकै हुन्छ । श्रम जे सुकै भए पनि समान ज्याला र समान सुविधा दिइने हुनाले नै श्रमिकका लागि नर्वेलाई स्वर्ग मानिएको हो रहेछ । अन्य युरोपीय मुलुकभन्दा नर्वेमा श्रम सुविधा र पारिश्रमिक सुविधाको कारणले स्पेन,पोर्चुगल, जर्मनीजस्ता मुलुकबाट पनि श्रमिकहरु नर्वे आउने रहेछन् । सेन्जेन मुलुकका मानिसहरुले स्वतः प्रवेश पाउने हुनाले श्रमिकहरुको अलि भीडभाड नै देखिन्छ । पाकिस्तान, भारत, अर्मेनिया, लिथुआनिया, पोल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, इरान जस्ता देशहरुबाट मात्र होइन कि सोमालिया, इथियोपिया, केन्या जस्ता अफ्रिकी मुलुकहरुबाट पनि शरणार्थीहरु र आप्रवासीहरुको झुन्ड नै देखिँदो रहेछ । शरणार्थीहरुको लागि पनि नर्वे राम्रो भत्ता दिने देशको रुपमा रहेको छ । नेपालबाट पनि भुटानी शरणार्थीहरुलाई नर्वेमा लगिएको छ स्थायीरुपमा राख्नका लागि ।

४. यति हुँदाहुँदै पनि , केही कुरामा सामाजिक न्यायको कमी देखिन्छ । हुन त आफ्ना करदाताप्रतिको कर्तव्यमा नर्वे एकदम सजग र सचेत छ तर पनि विश्व मानवताको कुरा गर्दा स्वास्थ सेवाका लागि बाहिरबाट गएका विदशीहरुलाई अत्यन्त महङ्गो स्वास्थ्य सेवामात्र उपलब्ध छ । कतिसम्म भने अस्पतालमा भर्नाहुनुपर्दा अत्यन्त महङ्गो शुल्क तिर्नुपर्छ । सामान्यतया रक्तचाप हेर्न पाइँदैन , डाक्टरको सिफारिसले मात्र हेर्न पाइन्छ । सामान्यतया रगतमा रहेको चिनीको मात्रा हेर्न पनि डाक्टरको सिफारिस र महङ्गो शुल्कको मारमा विदेशीले पर्नुपर्छ । विश्वमानवअधिकारको कुरा गर्ने हो भने भिसा पाएर नर्वेमा प्रवेश पाएपछि आधारभूत स्वास्थ्य सेवा त पाउनै पर्ने हो तर त्यस्तो छैन । यदि त्यस्तो धनी देशले विश्व मानव अधिकारको कुरामा ध्यान दिएमा झन सुनमा सुगन्ध हुने थियो ।

५. अनुमति लिएर गएपछि शिक्षा शिशुकक्षादेखि नै निःशुल्क छ । शिशुकक्षा वा बार्नेहागेमा केही रकम अभिभावकसँग लिइन्छ र सबैले बच्चाले भर्ना पाउने सम्भावना रहेनछ । तर अनुपातमा कमाइको आधारमा बच्चाको शिशुकक्षामा फी लिइँदो रहेछ । सबै सुविधा छ । कक्षा ६ सम्म खासै पढाई हुँदैन , खेलद्वारा नै पढाइ हुन्छ । कक्षा ८ देखिमात्र लिखित परीक्षा सुरु हुन्छ । यसवारेमा पछि कुने बेलामा लेखौँला । विश्वविद्यालयमा पनि शुल्क लिइँदैन र विद्यावारिधिमा विश्वविद्यालयले धेरै सुविधा दिन्छ ताकि विद्यार्थीले बिचैमा त्यो अनुसन्धान नछोडोस् ।

६. ओस्लोमा बसेकोले मैले ओस्लोका वारेमा बढी जानकारी राखेँ । सार्वजनिक स्थानमा पनि खाने पानीको व्यवस्था गरिएको छ धारामार्फत् । कलकल पानी खाए हुन्छ , घरको धारामा आउने पानी नै सार्वजनिक ठाउँमा वितरण गरिने हो । घरमा पनि तातो पानी, चिसो पानी सबै वितरण गरिएको हुन्छ । धाराबाट सिधै पिउन लायक हुन्छ पानी ।

मेरी छोरीले आफ्नी छोरीलाई धेरै दिनदेखि चाँडोचाँडो दिसा लागेकोले जुका हो कि भनेर डाक्टरसँग सल्लाह गर्दा डाक्टरले कुनै पनि हालतमा नर्वेमा जुका पर्दैन भनेर किटानी गरेको प्रसङ्ग यहाँनेर राम्रै होला । ओस्लो सहरमा खानेपानीको साह्रै राम्रो प्रवन्ध गरिएको रहेछ । सुनेअनुसार ओस्लोभित्रकै पानीबाट श्रोत खोजेर वितरण गरिएको छ ।
७. रुखैरुखको सहर रहेछ ओस्लो । हरियाली सहर । अहिलेको गर्मी समय वा समरमा जताततै हरियाली,फुलैफुल, हरिया रुखैरुख , जताततै मनोरम दृश्य । अबका केही महिनामा सबैतिर हिउँ परेर उजाड उजाड हुने रहेछ ।

८. सडकमा विद्युतीय मोटरहरु पनि गुडेका छन् र ठाउँठाउँमा चार्जिङ् स्टेसनहरु पनि राखिएका छन् । विद्युतीय कारहरुलाई पार्किङ् शुल्क लाग्दो रहेनछ ।

९. यसक्रममा नर्वेजियन युनिभर्सिटी अब लाइफ साइन्सेजबाट पानी, स्वास्थ्य र सरसफाइसम्बन्धी विषयमा एम फिल गर्नुभएका काभ्रे पाँचखालका नवराज सापकोटासँग गरिएको कुराकानी पनि यसैसाथ राखिएको छ । सुनौ उहाँसँगको कुराकानी ।

कुराकानी सुन्नुहाेस्

LEAVE A REPLY